शोक र संकटमा बडादशैं: नेपाली संस्कृति र राष्ट्रियताको रक्षा

२०८२ असोज ०६ सोमवार
सारांश
  • राष्ट्रपति मेरो जुक्तिले प्रजातन्त्र र संविधानलाई बचाउने काम गरेको छ भनेर हास्यास्पद तर्क गर्दै हुनुहुन्छ ।

आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने ।।
शौर्यं शान्त नवे वलं हलधरे सत्यन्च कुन्ती सुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
( द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु, दशरथ महाराजको जस्तो सम्पत्ति, रामचन्द्रको जस्तो शत्रुनाश, नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो सम्मान, भिष्मपितामहको जस्तो शूरता, हलधर बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्य, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति तपाईंको पनि होस्।)

 

आज कोजाग्रत पुर्णिमा । हाम्रो परम्परा, धर्म संस्कृति अनुसार आजबाट बडादशैं प्रारम्भ भएको भएको छ । बडादशैं नेपालीहरूको एक महान धार्मिक एवम् सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको पवित्र सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा आदि अनादिकालदेखि निरन्तर रूपमा मनाउँदै आएको हो। 


तर नेपालीहरूका लागि यस पकटको दशैं विगतको जस्तो आनन्दमय हुन सकेन । भाद्र २३ को नरसंहार र २४ भाद्रको अकल्पनीय विनासको खरानीमा टेकेर दशैं तपाईं हाम्रो घर आँगनमा आएको कारण यसपालीको दशैं विगतको जस्तो उल्लासमय हुने छैन ! निश्चय: नै यो दशैं नेपालीजनका लागि खल्लो हुने भो।

 

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो भन्नेमा कुनै सन्देह छैन । नेपालीका आफ्नै मौलिक भेषभूषा सहितका विविधता राष्ट्रिय पहिचान हुन् । आम नेपाली जनतामा निहित बन्धुत्वभावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नै नेपालीको विशेषता हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाउँदै आएको छ । तर देशलाई जनताको भावना विपरित बलजफ्तिरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे पछि मुलुकको मौलिक धर्म, संस्कृति र यसले निर्माण गरेको राष्ट्रिय एकताको धरोहरलाई भत्काउँदै लगेको छ । जनभावनाको कदर नगरी विदेशी शक्तिको षड्यन्त्रमा राजसंस्थालाई हटाइए पछि राष्ट्र कमजोर भएको छ । विदेशी धर्म र सँस्कृतिको अतिक्रमण डरलाग्दोसँग बढिरहेको छ । यसबाट हिन्दु एवम् बौद्ध धर्म र सँस्कृति खतरामा पर्दै गएको टड्कारो रूपमा महशुस भएको छ । हामीले हिन्दुहरूको महान पर्व बडादशैं मनाइरहँदा यस तर्फ गंभीर भएर सोच्ने र मनन् गर्न ढिला भएको छ ।

 

मुलुक यतिखेर इतिहासको अत्यन्त गंभीर एवम् महत्वपूर्ण मोडमा उभिएको छ । GenZ आन्दोलनको परिणाम १४ महिने ओली सरकार पतन भएको छ र संविधानको शब्द र मर्म विपरित सर्वोच्च अदालतको पूर्व प्रधानन्यायधिस श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको १० वर्ष पुरा हुँदैगर्दा ओली नेतृत्वमा रहेको नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पतन पछि उपस्थित जटिल संवैधानिक एवम् राजनीतिक अवस्थामा GenZ आन्दोलनको मर्म अनुसार अन्तरिम सरकार गठन गर्न यो संविधान विफल भएको छ । आवश्यकताको सिद्धान्तमा टेकेर सरकार गठन भएपछि देशमा वैधानिक संकटको स्थिति पैदा भएको छ । राष्ट्रपति मेरो जुक्तिले प्रजातन्त्र र संविधानलाई बचाउने काम गरेको छ भनेर हास्यास्पद तर्क गर्दै हुनुहुन्छ । १२ बुँदे समझदारी पछि नेपाली राजनीतिमा प्रवेश गरेको संघन विदेशी हस्तक्षेप पछि अहिले संविधानको असफलताले नेपाल थप भुराजनीतिक जटिलतामा फसेको देखिंदैछ । हामीले वेलैमा होस पुऱ्याएनौं भने देशमा विदेशी हस्तक्षेप निम्तिन सक्छ ।

 

देश संविधान बचाउन चिन्ता गर्ने कि राष्ट्र बचाउन चिन्ता गर्ने भन्ने दोसाधमा उभिएको छ । संविधानको भन्दा देशको चिन्ता गर्ने अहिलेको वेला हो । यस तर्फ सबै राष्ट्रप्रेमी प्रजातन्त्रवादी शक्ति एक ठाउँमा उभिएर आम राजनीतिक सहमति निर्माण गरेर अगाडी बढ्न जरूरी छ । यसो गर्न सकेनौं भने बीपी कोइरालाले चिन्ता गर्नु भएजस्तै देश गंभीर संकटमा पर्ने निश्चित जस्तै छ ।

 

यसै पनि यो संविधान निर्माणको चरणदेखि नै विवादमा परेको हो । संविधान निर्माणको चरणमा नै प्रसश्त त्रुटी भएको छ । यसले संविधानवादको सिद्धान्तलाई पछ्याउन सकेन । यीनै राजनीतिक शक्ति र दलहरूले दुनियाँ कै उत्कृष्ट भनिएको नेपाल अधिराज्यको संविधान - २०४७ लाई औचित्यहीन तवरबाट च्याने काम गऱ्यौं । बैशाख ११, २०६३ मा राजा ज्ञानेन्द्रसंग राजनीतिक सम्झौता गरेर दलले आँफैले विघटन गरेको प्रतिनिधि सभालाई राजनीतिक दवावमा पुनस्थापित गऱ्यौ । पछि धोका र षडयन्त्रको तहमा राजासंग गरिएको संझौता विपरित विदेशी षड्यन्त्रमा परेर जनताको रायविना राजसंस्थालाई विस्थापित गर्ने कुकर्म गर्यौं । षडयन्त्र, धोका र असंवैधानिक बाटोबाट वनेको कारण मैले यो संविधानलाई असंवैधानिक संविधान भन्दै आएको हूँ ।

 

GenZ आन्दोलन पछि कोमामा पुगेको संविधानलाई एउटा प्रक्रियाबाट जनचाहना अनुसार व्यापक संशोधन , पुनर्लेखन वा नयाँ संवाधान वनाउन सकेनौं र यो संविधानलाई जस्ताकोतस्तै वोक्यौं भने निश्चय नै यो संविधान नेपाली जनतालाई आपसमा जोड्दै राष्ट्रीयताको भावलाई दह्रिलो वनाउन, राजनीतिक स्थायित्व कायम राख्दै प्रजातन्त्रलाई सुदृढ पार्न असमर्थ हुनेमा संका छैन।

 

संविधानको असफलताको कुरा माथि गरिहालें । राजनीतिक दल र त्यसको नेतृत्वको अक्षमता र भ्रष्ट सोचको कारण देश भ्रष्टाचार कुशासनमा डुब्यो । देश भ्रष्टाचारीहरूको लागि स्वर्ग जस्तै भयो। एशिया कै भ्रष्ट देश मध्येमा नेपालको नाम अगाडी छ । गरिवी नेपालको परिचय भएको छ । ललिता निवास केस, भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, गिरीबन्धु टी स्टेट प्रकरण लगायत दर्जनौं भ्रष्टाचारका केसमा दलका नेताहरूको नाम दोडिदा समेत राजनीतिक शक्तिको आडमा भ्रष्ट नेताहरूले उन्मुक्ति पाउँदै आएका छन् । देशको अर्थतन्त्र चौपट भैसकेको छ। आन्तरिक राजश्वले कर्मचारीको तलव धान्न नसक्ने अवस्था छ । महंगीले जनताको ढाड सेकेको छ । कुशासन र भ्रष्टाचारले गर्दा देश असफल राष्ट्र हुँदै थियो तर राजनीतिक दल, तीनका नेता र सरकारमा कुनै संवेदनशीलता र गंभीरता देखिंदैन थियो । यही निराशा चुलिएको वेला GenZ पुस्ता भ्रष्टाचार र प्रम ओलीको हठमा वन्द भएको सामाजिक सञ्जाल खोल्न विरोध प्रदर्शनमा उत्रिए । ओली सरकारले १५ चैत्र २०८१ को शैलीमा युवाहरूको प्रगर्शनलाई दमन गर्ने योजनाकोसाथ शक्ति प्रयोग गऱ्यो तर यस पटक उल्टो भयो, दर्जनौं युवा विद्यार्थी सहित नागरिकको हत्या भयो, सयौं घाइते भए । ओलीले सत्ता छोड्न वाध्य हुनु पऱ्यो । राजनीतिले अर्कै बाटो समात्यो ।

 

जनतामा वर्तमान राजनीति वेथितिप्रति चरम निराशा छाएको छ । देशमा राजनीतिक अनिश्चितता छाएको छ, देशको राजनीतिक दल र शक्ति देशको नेतृत्व गर्न असफल वन्दै गएको अवस्थामा देश संकटमा पर्ने हो कि भन्ने आशंका गर्न थालिएको थियो। यसैको पृष्टभूमिमा GenZ आन्दोलन उठेको थियो। सुशीला कार्की नेतृत्वको सरकारलाई यी चुनौतिहरूको बीचमा २१ फागुनमा निर्वाचन गर्न निश्चय नै सहज छैन ।


नेपाली जनताको भावना विपरित विदेशी शक्तिको प्रभाव र इच्छामा संविधान जारी भएको कारणले पनि यो संविधानलाई आम नेपाली जनताले पूर्ण रूपमा आत्मसात गर्न सकिरहेका थिएनन् । आम नेपाली जनताको भावनालाई संविधानले राम्रोसंग आत्मसात गर्न नसके त्यो संविधानले राजनीतिक स्थायित्व दिने र देशको भलो गर्ने छ भनेर आशा गर्न सकिन्नथ्यो।

 

नेपाली कांग्रेस र एमाले बीच १४ महिना अगाडी संविधान संशोधन मुद्धालाई प्रमुखता दिएर ७ बुंदे सहमति भयो तर १४ महिना वित्दै गर्दा समेत संविधान संशोधनको मुद्धाले कुनै स्थान पाएन । यो जनताप्रति धोका र वेइमानी थियो । जनभावना अनुसार संविधानको व्यापक रूपमा संशोधन गरेर धर्मनिरपेक्ष राष्ट्रको खारेज गरी नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न जरूरी छ । 

 

साथै संघीयता, गणतन्त्र र निर्वाचन प्रणाली माथि पनि जनतालाई फैसला गर्न दिन राजनीतिक दल तयार हुनु पर्थ्यो तर दुर्भाग्य त्यसो गर्ने तर्फ दलहरू अग्रसर भएनन् र GenZ आन्दोलनले यिनलाई सत्ताबाट धक्का दिएर बाहिर निकालिदियो । यति हुँदा पनि यी दल र नेतृत्वमा कुनै आत्मालोचित भाव र चेत खुलेको देखिन्न।

 

जे होस यसपालीको बडादशैं घटस्थापना गर्दै आजबाट प्रारम्भ भएको छ। आम नेपालीले भाद्र २३ र २४ को राष्ट्रीय पीडा र शोक अनि महंगी र अभावको बीचमा पनि आफ्नो मौलिक परम्परा र संस्कृतिलाई निर्वाह गर्दै दशैं पर्व मनाउने छन्। "महाकाली, महासरस्वती र महालक्ष्मी" रूपमा शक्तिको रुपमा रहेकी दुर्गा भवानीले हामी सबैको कल्याण गर्नेछिन् । हामी हाम्रा सबै चाड पर्व संस्कृतीहरूलाई जोगाउन सकौं ! हाम्रो मैलिक धर्म र संस्कृतिलाई जोगाउन सकियोस् । पीडा र दु:खको बीचमा पनि देशको राष्ट्रीयता अझ थप बलियो बनाउन सकियोस् । प्रजातन्त्र बलियो बनाउँदै राजनीतिलाई स्थायित्व दिन सकियोस्, देशलाई सवृद्धिको बाटोमा लग्न सकियोस् । समग्रमा देशलाई बलियो बनाउन सकियोस ।

 

जनताको भावना वमोजिम संविधानमा ब्यापक संशोधन गरेर धर्म निरपेक्षता खारेज गरी देशलाई "हिन्दूराष्ट्र नेपाल" घोषणा गर्न सकियोस् । शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा भएको गल्तिलाई सच्याएर देशका सबै राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्ति एक भएर बीपी कोइरालाको राष्ट्रीय एकता र मेलमिलापको नीतिको अधिनमा रहेर वृहत्तर राजनीतिक सहमति वनाएर संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन प्रणाली पुनस्थापित गरेर देशलाई चीरकालसम्म बचाउन सकियोस् ! यसका लागि श्री दुर्गा भवानीले हामी सबैलाई शक्ति दिउन्, आशीर्वाद दिउन् !

 

घटस्थापनासंगै आजबाट प्रारम्भ भएको बडादशैं २०८२ हाम्रो घर आगनमा आइपुगेको छ । यो पावन अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका मित्रगण, आफन्तजन एवम् आमनेपाली दिदीबहिनी एवम् दाजुभाईहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप लेखहरु